मलङ्गवा, सर्लाही। सर्लाही क्याम्पसमा स्नातक तहअन्तर्गत BBA कार्यक्रम सञ्चालनका लागि पहल तीव्र बनाइएको छ। यसैक्रममा BBA अनुगमन टोली, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) र शिक्षकहरूको टोलीबीच शैक्षिक गुणस्तर अभिवृद्धि, आवश्यक पूर्वाधार तथा कार्यक्रम सञ्चालनका विषयमा फलदायी अन्तर्क्रिया तथा छलफल सम्पन्न भएको छ।

छलफलमा BBA कार्यक्रम सञ्चालनका लागि आवश्यक शैक्षिक र भौतिक पूर्वाधार सुदृढ गर्दै गुणस्तरीय शिक्षाको वातावरण निर्माण गर्ने विषयमा जोड दिइएको थियो।

यसैबीच सर्लाही क्याम्पसमा डिजिटल स्मार्ट बोर्डमार्फत अत्याधुनिक पठनपाठन सेवा पनि औपचारिक रूपमा सुरु गरिएको छ। क्याम्पसले समयअनुकूल प्रविधिमैत्री शिक्षण प्रणालीलाई प्राथमिकता दिँदै स्मार्ट बोर्ड जडान गरेपछि विद्यार्थीहरूले अन्तरक्रियात्मक, प्रभावकारी र गुणस्तरीय सिकाइ अनुभव प्राप्त गर्ने विश्वास गरिएको छ।

स्ववियु सभापति सुजित कुमार यादवले क्याम्पसमा शैक्षिक गुणस्तर अभिवृद्धि, आधुनिक प्रविधिको विस्तार तथा BBA कार्यक्रम सञ्चालनका लागि आफूहरूको पहल र प्रतिबद्धता निरन्तर रहने बताउनुभयो। उहाँले विद्यार्थीको आवश्यकता र समयको मागअनुसार क्याम्पसलाई थप आधुनिक र प्रतिस्पर्धी शैक्षिक संस्थाका रूपमा विकास गर्न स्ववियुले निरन्तर सहकार्य गर्ने उल्लेख गर्नुभयो।