देशका विभिन्न स्थानमा देखिएका सामाजिक सद्भाव विथोल्ने गतिविधिलाई मध्यनजर गर्दै सर्लाहीको हरिवन नगरपालिकामा सर्वपक्षीय सामाजिक सद्भाव भेला सम्पन्न भएको छ।

आज (साउन १५) बिहान ११:०० बजे इलाका प्रहरी कार्यालय हरिवनको आयोजनामा हरिवन नगरपालिका–११ स्थित सगुन सहकारी संस्थाको सभाहलमा भेला सम्पन्न भएको हो।

भेलामा हरिवन नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, ११ वटै वडाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न पेशा–व्यवसायसँग आबद्ध व्यक्तित्व, बुद्धिजीवी, समाजसेवी तथा विभिन्न धार्मिक समुदायका अगुवाहरूको सहभागिता रहेको थियो।

भेलामा देशका विभिन्न भागमा भइरहेका सामाजिक सद्भाव विथोल्ने गतिविधि हरिवन नगरपालिकाभित्र हुन नदिन सबै पक्ष एकजुट भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, नगर क्षेत्रभित्र शान्ति, सुरक्षा र आपसी सद्भाव कायम राख्न सबै तह र समुदायबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने निर्णय गरिएको छ।

कार्यक्रममा सामाजिक सद्भाव बिगार्ने गतिविधि हुन सक्ने स्थान तथा त्यस्ता गतिविधिमा संलग्न हुन सक्ने व्यक्तिहरूको बारेमा सूचना आदानप्रदान गरी सुरक्षा निकायलाई समयमै जानकारी गराउने र आवश्यक कारबाहीका लागि आ–आफ्नो तहबाट पूर्ण सहयोग र समर्थन गर्ने सामूहिक प्रतिबद्धता जनाइएको थियो।

सहभागीहरूले सामाजिक एकता, धार्मिक सहिष्णुता र आपसी सद्भाव कायम राख्दै कुनै पनि उक्साहट वा अफवाहमा नलाग्न सम्पूर्ण नगरवासीलाई आग्रह गरेका छन्।