जनकपुरधाम, साउन १७ — मधेश भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङले हिन्दू सम्राट सेनासँग पुनः वार्ता थालेका छन्। शुक्रबार राति मधेश पुगेका गृहमन्त्री शनिबार जनकपुरधामस्थित एक होटलमा हिन्दू सम्राट सेना नेपालका पदाधिकारीसँग वार्तामा बसेका हुन्।

सरकारका तर्फबाट गृहमन्त्री गुरुङसँगै प्रतिनिधिसभा सदस्यहरू शिवशंकर यादव र रामविनोद यादव सहभागी छन्। साथै मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी ओमप्रसाद अधिकारी, एपीएफका डीआईजी विष्णु भट्ट, राष्ट्रिय अनुसन्धान विभागका पदाधिकारी, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, नेपाल प्रहरीका एसएसपी भुवनेश्वर तिवारी तथा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी रुपेश खड्कालगायत सुरक्षा तथा प्रशासनका अधिकारी पनि वार्तामा सहभागी छन्।

हिन्दू सम्राट सेना नेपालको तर्फबाट अध्यक्ष राजेश सनातनी, उपाध्यक्ष कृष्ण सनातनी, महासचिव राकेश सनातनीलगायत पदाधिकारी वार्तामा सहभागी भएका छन्। वार्तामा संयुक्त हिन्दू मोर्चाले शुक्रबार राति सरकारसमक्ष पेश गरेका मागहरूमाथि छलफल भइरहेको जनाइएको छ।

यसअघि शुक्रबार राति भएको वार्तापछि मनीष झाले सहमति भएको दाबी गरेका थिए। तर हिन्दू सम्राट सेनाले उक्त दाबी अस्वीकार गर्दै कुनै सहमति नभएको जनाएको थियो। शुक्रबार रातिको वार्तामा विवाद उत्पन्न भएपछि आजको वार्तामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्तालाई सहभागी नगराइएको बताइएको छ।