पाकिस्तानको ब्रड पिक हिमालमा बेपत्ता भएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जाको शव करिब ५,७०० मिटर उचाइमा फेला परेको छ।

अल्पाइन क्लब अफ पाकिस्तानका अध्यक्ष इरफान अहमद खानले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै, उद्धार टोली निम्सदाइ रहेको स्थानमा पुगेको र सोही क्षेत्रमा तीन अन्य शव पनि देखिएको, तर ती शवहरूको पहिचान भने अझै पुष्टि हुन बाँकी रहेको बताएका छन्।

‘उद्धार टोलीले करिब ५,७०० मिटर उचाइमा निम्सदाइलाई भेटेको छ। त्यही स्थानमा अन्य तीन शव पनि देखिएका छन्, तर तिनको पहिचान पुष्टि भएको छैन। शवहरू जापानी क्याम्पसम्म झार्ने तयारी भइरहेको छ,’ उनले भने।

खानका अनुसार उद्धार कार्य अत्यन्त कठिन भौगोलिक अवस्थामा जारी छ। यो जानकारी पाकिस्तानको स्थानीय समय अनुसार आज दिउसो १२:४५ बजेको हो । निर्मल पुर्जासहित १० आरोही बिहीबार बिहान ९ बजेपछि सम्पर्कविहीन भएका थिए ।