मलंगवा, सर्लाही। साउन महिनामा नेपालबाट ठूलो संख्यामा श्रद्धालुहरू भारततर्फ जाने क्रम बढेसँगै मलंगवा–सोनबरसा (सीतामढी) सीमा नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ।

सीतामढीका अनुमण्डल पदाधिकारी आनन्द कुमार तथा अतिरिक्त प्रहरी उपरीक्षक आशीष आनन्दले सोमबार राति सीमा क्षेत्रको निरीक्षण गर्दै प्रहरी, एसएसबी र प्रशासनिक अधिकारीहरूसँग सुरक्षा तयारीको समीक्षा गरेका छन्।

उनीहरूले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई पूर्ण सतर्कताका साथ ड्युटी गर्न, अवैध आवतजावत, तस्करी तथा शंकास्पद गतिविधिमाथि कडा निगरानी राख्न निर्देशन दिएका छन्।

साथै, साउनका अवसरमा नेपालबाट भारत प्रवेश गर्ने श्रद्धालुहरूको सुरक्षा र सहज आवागमन सुनिश्चित गर्न संयुक्त गस्तीलाई निरन्तरता दिइने प्रशासनले जनाएको छ।

प्रशासनले स्थानीय बासिन्दालाई पनि कुनै शंकास्पद व्यक्ति वा गतिविधि देखिएमा तत्काल प्रहरी वा प्रशासनलाई जानकारी गराई सीमा क्षेत्रमा शान्ति तथा सुरक्षा व्यवस्था कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।