कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा पक्षको शुक्रबारदेखि सुरु हुने भेलामा ५ वटा प्रस्ताव पेस हुने भएका छन् ।

कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने भएका छन् भने पूर्वप्रवक्ता प्रकाशरण महतले आर्थिक नीतिसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने भएका छन् ।

त्यसैगरी मुलकको समसामयिक विषयसँग सम्बन्धित प्रस्ताव नेता एनपी साउद, विधान संशोधनसँग सम्बन्धित प्रस्ताव नेता रमेश लेखक र प्रचार–प्रसारसँग सम्बन्धित प्रस्ताव मीन विश्वकर्माले प्रस्तुत गर्ने भएका छन् ।

भेला सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भएको छ । नेता साउदका अनुसार पूर्वसभापाति देउवाले भेलाको उद्घाटन गर्ने कार्यक्रम छ । देउवा बिहीबार साढे १२ बजे काठमाडौं उत्रिने भएका छन् । स्वास्थ्य उपचारका लागि भनेर उनी १३ फागुनमा सिंगापुर गएका थिए ।

देउवालाई स्वागत गर्न ठूलो संख्यामा नेता तथा कार्यकर्ता उपस्थिति गराइने नेताहरूले जनाएका छन् । साउदले करिब २ देखि ५ हजारसम्म नेता कार्यकर्ता विमानस्थल पुग्ने बताए ।

भेलाको पहिलो दिन उद्घाटन मात्रै हुनेछ । दोस्रो र तेस्रो दिनमा प्रस्तावहरूमाथि छलफल हुने र पार्टीले लिने समग्र विषयमा नीति तय गर्ने साउदले बताए ।