स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकमा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी स्याङ्जाका अनुसार मृत्यु हुनेमा गल्याङ नगरपालिका–८ की २५ वर्षीया निशा पचभैया र गल्याङ–९ का ६० वर्षीय यमबहादुर विक रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीका प्रवक्ता रमेशदत्त अवस्थीले जानकारी दिए ।

सोमबार साँझ करिब ५ बजेर ४५ मिनेट जाँदा गल्याङ बजारबाट गल्याङ नगरपालिका–९ साङ्लियातर्फ जाँदै गरेको ग.१.ज. ६५३४ नम्बरको बलेरो जिप भित्री सडकखण्डको उकालो घुम्तीमा नियन्त्रण गुमाएर दुर्घटनामा भएको थियो । दुर्घटनामा दुई जनाको मृत्यु र १० जना घाइते भएका थिए ।

घाइते जीप चालक गल्याङ–९ का २९ वर्षीय दिपक विकको टाउकोमा चोट लागेको छ भने उनको नगर अस्पताल गल्याङ्‌मा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा १५ वर्षीया सुप्रिया थापा, ५६ वर्षीय बोमा खनाल, १२ वर्षीय समिर विक, १० वर्षीय सगुन विक, ६२ वर्षीय टोलबहादुर विक, २१ वर्षीया असिसा पचभैया, २५ वर्षीया अरुणा गाहा, ६२ वर्षीय मेगनाथ खनाल, २२ वर्षीया गंगा विश्वकर्मा, ५१ वर्षीया दुर्गा विक, २५ वर्षीया पार्वती विक, ३२ वर्षीया यमकला खनाल र, ११ वडाकी ५५ वर्षीया राधामाया राना र ८ नम्बरकी १७ वर्षीया स्नेहा परियार रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।