भोटेकोशी नदीमा बाढी आएको ११औँ दिनमा आज दुई जनाको जीवितै उद्धार गरिएको छ । उद्धारकर्मीहरूले एक जनाको घरबाट र एक जनाको जलविद्युत् आयोजनाको सुरुङबाट जीवितै उद्धार गरेका हुन् ।

नुवाकोटको विदुर नगरपालिका – १० बेत्रावतीमा रहेको आनन्द श्रेष्ठको ४ तले घरको चौथो तलाबाट उहाँकी श्रीमती चन्डिका श्रेष्ठको जीवितै उद्धार भएको छ । यस्तै २१६ मेगावाटको माथिल्लो त्रिशूली – १ जलविद्युत् आयोजनाको अडिट ४ सुरुङबाट एक जना चिनियाँ नागरिकको जीवितै उद्धार भएको छ ।

नेपाली सेना र दक्षिण कोरियाको डिजास्टर विज्ञ टोलीले आज दिउँसो उहाँलाई उद्धार गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यसअघि हिजो अर्थात् बाढी आएको १०औँ दिनमा माथिल्लो त्रिशूली -३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनाको जीवितै उद्धार गरिएको थियो ।