ताप्लेजुङ — मैवाखोलादेखि मेरिङदेन, मिक्वाखोला, आठराई त्रिवेणी गाउँपालिका भएर बग्ने मैवाखोला नदीमा आएको बाढीका कारण दोभान बजार नजिकैको सडक अवरुद्ध भएको छ ।

बाढीले सडक भत्काएपछि आठराई त्रिवेणी र मैवाखोला गाउँपालिकाबाट दोभान बजार हुँदै सदरमुकाम फुङलिङ बजार जानेआउतजावत गर्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको उद्योग वाणिज्य संघ दोभान शाखाका सचिव लाक्पातेम्बा शेर्पाले जानकारी दिए ।

शेर्पाका अनुसार २०७२ सालको बाढीले पनि यही ठाउँको सडक बगाएको थियो । यहाँ नजिकैको पुल भने सुरक्षित रहेको दोभानका व्यवसायीले बताएका छन् ।

सोमबार बेलुकादेखि यो नदीमा बाढी आएको सूर्य लिम्बूले जानकारी दिएका छन् ।