ताप्लेजुङ — मेरिङदेन गाउँपालिका–३ दोभान बजार नजिक भएर बग्ने मैवाखोलामा ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सोमबार (आज) बिहान करिब २ : ४० बजेको समयमा आठराई त्रिवेणी गाउँपालिकाको हाङपाङबाट गोलिया बोकेर अरुण भेनियरतर्फ जाँदै गरेको ट्याक्टर मैवाखोलाको पुल छेउबाट खोलामा झरेको थियो ।

सडकबाट करिब २० मिटर तल झरेको ट्याक्टरका चालक समीर बराइली र त्यसैमा सवार अनिल नाल्बो बेपत्ता भएको प्रहरीले जनाएको छ । दोभान इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक शिवकुमार मण्डलका अनुसार दुवैलाई खोलाले बगाएको अनुमान गरिएको छ ।

दोभानका बासिन्दा र प्रहरीसहितको टोलीले बिहानदेखि नै खोजी कार्य जारी राखेको र सदरमुकाम फुङलिङबाट थप प्रहरी परिचालन गरिएको छ। नम्बर नखुलेको ट्याक्टर भेनियरको भएको उल्लेख छ ।