मलङ्गवा, सर्लाही । सर्लाहीमा बालबालिका लागुऔषध तथा विभिन्न प्रकारका कुलतको सिकार बन्दै गएको भन्दै सर्लाही जिल्ला बाल क्लब सञ्जालले नियन्त्रणका लागि कडा कदम चाल्न माग गरेको छ।

सञ्जालका अध्यक्ष वेदप्रकाश झाले जिल्ला प्रशासन कार्यालय, सर्लाहीका प्रमुख जिल्ला अधिकारीसमक्ष ध्यानाकर्षण पत्र तथा प्रेस विज्ञप्ति बुझाउँदै १८ वर्षमुनिका बालबालिकालाई सुर्तीजन्य पदार्थ, मदिरा, प्रतिबन्धित औषधि तथा नशालु घोलक पदार्थ बिक्री–वितरण गर्ने पसल सञ्चालकलाई कानुनबमोजिम कारबाही गर्न माग गर्नुभएको हो।

जिल्लाका विभिन्न स्थानमा बालबालिकालाई यस्ता पदार्थ सहजै उपलब्ध भइरहेको गुनासो बढेको भन्दै सञ्जालले जिल्लाभर कडाइका साथ अनुगमन गर्न आग्रह गरेको छ। स्थानीय तह, प्रहरी प्रशासन तथा उद्योग वाणिज्य संघमार्फत पसलहरूको नियमित अनुगमन गरी बालबालिकालाई नशालु पदार्थ बिक्री गर्ने व्यवसायीलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गरिएको छ।

नेपालको संविधानको धारा ३९ तथा बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ लाई आधार बनाउँदै अध्यक्ष झाले बालबालिकालाई नशालु पदार्थबाट जोगाउनु राज्य तथा सम्बन्धित निकायको महत्वपूर्ण जिम्मेवारी रहेको बताउनुभयो।

ध्यानाकर्षण पत्र हस्तान्तरण कार्यक्रममा सञ्जालका अध्यक्ष वेदप्रकाश झासहित लभकुश कुमार यादवलगायतको सहभागिता रहेको थियो। टोलीले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई पत्र तथा प्रेस विज्ञप्ति हस्तान्तरण गरेको हो।