सुशीला कार्की नेतृत्वको चुनावी सरकारले जेनजी आन्दोलनका सहिदहरूको सम्झनामा जेनजी स्मारक पार्क निर्माण गर्ने निर्णय गरेको थियो ।

तत्कालीन सरकार र जेनजी बीच भएको सहमतिमा शहीद र घाइतेको त्याग तथा बलिदानलाई सम्मान, न्याय तथा अर्थपूर्ण स्मृतीकरणसहितको परिपूरण गर्ने उल्लेख थियो । सरकार र जेनजी बीचमा भएको सहमतिमा भनिएको थियो, ‘अर्थपूर्ण स्मृतीकरण (मेमोरियलाइजेशन) समेतको परिपूरणीय व्यवस्था सुनिश्चित गरिनेछ ।’ जेनजी आन्दोलनका अगुवा एवं तत्कालीन युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले सरकारको तर्फबाट सहिद स्मारक बनाउन अगुवाई गरे ।

सातदोबाटोस्थित पौडीपोखरी परिसरमा ४५ जना जेनजी सहिदको स्मारक बनाउने कार्य अघिल्लो सरकारको समयमै सुरु गरिएको थियो ।

रास्वपाका प्रवक्ता एवं तत्कालीन सञ्चारमन्त्री जगदीश खरेल सालिक बनाउनका लागि ठाउँ तय गर्न त्यसबेला समस्या नै परेको स्मरण गर्छन् । ‘युवाहरूको खेलकुदसँग सेन्टिमेन्ट पनि जोडिएकोलले सबै हिसाबले ठाउँ त्यहाँ फाइनल गरिएको हो,’ पूर्वमन्त्री खरेलले अनलाइनखबरसँग भने । जेनजी सहिदको सालिक बनाउने कार्यको त्यसेबला नेतृत्व बब्लु गुप्ताले गरेको खरेल बताउँछन् ।

अघिल्लो सरकारकै समयमा सालिक बनाउने निर्णय र प्रक्रिया सुरु भएपनि निर्माण सम्पन्न भने हुन सकेन । सालिक बनाउन सरकारको तर्फबाट अगुवाइ गरेका तत्कालीन मन्त्री गुप्ता नै पदबाट राजीनामा दिएर चुनावतिर लागे ।

‘तत्कालै बनाएर सक्ने भन्ने थियो । सरकारी प्रक्रिया पुरा गर्दागर्दै चुनाव आइहाल्यो,’ पूर्वमन्त्री खरेल भन्छन्,‘सालिक बनाउन जो जसले जिम्मेवारी पाउनु भयो । अनुहार त मिलाएर बनाउनु पर्ने हो नि ।’

जेनजी आन्दोलनको एक वर्ष पुगेको अवसरमा सालिक अनावरण गर्ने गरी समय तय गरिएको थियो ।  गृहमन्त्री सुधन गुरुङले जेनजी शहीदको सालिक अनावरण गर्ने गरी गत बुधबार समय तय गरियो ।

सालिक निर्माणको कार्य सम्पन्न नहुँदै अनावरण गर्न लागिएको थियो । सहिदको अनुहारसँग सालिकको अनुहार मेल नखाएपछि सहिद परिवारका सदस्यहरू आक्रोशित भएका थिए ।

अनुहार नमिलेको भन्दै सहिद परिवारका सदस्यहरू आक्रोशित बनेपछि  गृहमन्त्री सुधन गुरुङ अनावरण नगरि फर्किए ।

जेनजी सहिद परिवार कल्याणकारी समाजका अध्यक्ष नारायण श्रेष्ठ जेनजी सहिदको अनुहार सालिकसँग नमिलेपछि अनावरण रोकिएको बताए ।

‘अनुहार नमिलेपछि हामीले अनावरण गर्न हुँदैन भन्यौं । फेरि बनाएर हामीलाई खबर गर्ने भन्नुभएको छ’ उनले भने ।

श्रेष्ठका अनुसार सालिक अनावरण कार्यक्रममा उपस्थित हुनका लागि सहिद परिवारलाई अघिल्लो दिनमात्रै खबर गरिएको थियो ।

सालिक बनाउनका लागि समन्वय रवि शाक्यले गरेका थिए । दुई मूर्तिकार  मनिष श्रेष्ठ र सुजित श्रेष्ठले सालिक बनाएका थिए ।

सालिक बनाउन समन्वय गरेका शाक्य सालिक बनाउने कार्यले अन्तिम रुप नपाउँदै हतारिएर अनावरण गर्न खोज्दा समस्या पैदा भएको बताउँछन् ।

निर्माणाधीन अवस्थामा रहेका सालिकहरु जेनजी दिवसको समय पारेर परिवारका सदस्यलाई देखाउने गरी पूर्व तयारी भए पनि अकस्मात अनावरणको प्रसंग आएर विवादित भएको शाक्यले बताए ।

शाक्यले अनलाइनखबरसँग भने,‘४० प्रतिशत मात्रै सालिकको काम सकिएको छ । हन्ड्रेड पर्सेन्ट कम्प्लिट भैसकेपछि त्यो सालिकको स्वरुप हेर्नु होला ।’

सरकारले सालिक बनाउन स्थान उपलब्ध गराएपनि आर्थिकको व्यवस्था भने गरेको थिएन । जेनजी सहिदको सालिक बनाउनका लागि व्यक्तिगत पहलबाट रकमहरू जोहो गर्दै निर्माण कार्य जारी राखेको शाक्य बताउँछन् । ‘जेन्जीको सालिक कुनै सरकारी बजेटबाट बनेकै होइन । बनाउनुपर्छ भनेर हामीहरू लागेर अलि अलि गरेर पैसा उठाएका हौं,’ शाक्यले भने ।

शाक्यका अनुसार करिब २० लाख रुपैयाँ हालसम्म खर्च भइसकेको छ । अब दुई महिनाभित्र सालिक निर्माणको कार्य सम्पन्न हुने शाक्य दाबी गर्छन् । निर्माणको कार्य सम्पन्न नहुँदै अनावरण गर्न लाग्दा दुई मूर्तिकार सुजित श्रेष्ठ र मनिष श्रेष्ठलाई व्यवसायिक जीवनमा ठेस पुगेको भन्दै शाक्यले चित्त दुखाए ।

‘उहाँहरूको मनमा ठूलो ठेस पुगेको छ । दुबैजना निपूर्ण मूर्तिकार हो,’ शाक्य भन्छन् ।

सालिक बन्ने क्रममा रहेका जेनजी सहिदहरू

१. बुद्धिबहादुर तामाङ  किर्तिपुर–२, काठमाडौं

२    सन्तोष बिश्वकर्मा बेलका–४, उदयपुर

३    सुलभ राज श्रेष्ठ  नेपालगंज–१, बाँके

४    श्रीयम चौलागाई  बेलबारी–११, मोरङ

५    ईस्वत बहादुर अधिकारी का.म.पा–११, काठमाडौं

६    आयुष थापा नेपालगंज–१, बाँके

७    गौरब जोशी धनगढी–५, कैलाली

८    योग बहादुर श्रेष्ठ बारविसे–६, सिन्धुपाल्चोक

९    माधव सारू मगर भूमिकास्थान–४, अर्घाखाँची

१०   बिमल बाबु भट्ट  बारपाक सुलिकोट–५, गोरखा

११   असहाव आलम ठकुराई  वीरगञ्ज–१२, पर्सा

१२   सौरन किशोर श्रेष्ठ बाग्लुङ–४, बाग्लुङ

१३   सुभाष कुमार बोहरा     खप्तडछान्ना–७, बझाङ

१४   रसिक खतिवडा खत्री    पनौति–१०, काभ्रे

१५   बिनोद महर्जन    ललितपुर–७, ललितपुर

१६   दिल नारायण तामाङ   तिमाल–७, काभ्रे

१७   योगेन्द्र न्यौपाने   गोलान्जोर–१, सिन्धुली

१८   अभिषेक श्रेष्ठ    इनरुवा न.पा.–६, सुनसरी

१९   मोहन सरदार    इटहरी–१४, सुनसरी

२०   छत्रमान कुथुमी   पाख्रिबास–२, धनकुटा

२१   ओझन बुढा स्वामिकार्तिक खापर–२, बाजुरा

२२   साजन राई  धरान–२२, सुनसरी

२३   अनिश पराजुली   पालुङटार–३, गोरखा

२४   सारकुमार राई    चौदन्डीगढी–३, उदयपुर

२५   अर्जुन भट्ट गण्डकी–४, गोर्खा

२६   धिरज श्रेष्ठ तादी–३, नुवाकोट

२७   देवकुमार सुवेदी   लालबन्दी–५, सर्लाही

२८   उमेश महत चौतारा साँगाचोकगढी–८, सिन्धुपाल्चोक

२९   प्रविण कुलुङ सिलिचुङ–३, सङ्खुवासभा

३०   निखिता गौतम   कालिका–८, चितवन

३१   अभिषेक चौलागाई शैलुङ–४, दोलखा

३२   विजय चौधरी    लहान–१५, सिरहा

३३   भिमराज धामी   दुर्गाथली–१, बझाङ

३४   निरज पन्त दशरथचन्द ६, बैतडी

३५   दीपक सिंह साउद शिवनाथ–२, बैतडी

३६   शुभराज बलामी श्रेष्ठ   ककनी–१, नुवाकोट

३७   ज्ञानिन्द्र सेढाई   अर्जुनधारा–११, झापा

३८   दिनेश राजवंशी   अर्जुनधारा–८, झापा

३९   कमल भण्डारी    हिलिहाङ–२, पाँचथर

४०   दिपेश सुनुवार    तिनपाटन–६, सिन्धुली

४१   महेश बुढाथोकी   विगु–३, दोलखा

४२   लच्छुमान राई    पञ्चकन्या–२, नुवाकोट

४३   मिलन राय दुधौली–८, सिन्धुली

४४   अमृत गुरुङ रुपा–५, कास्की

४५   उत्तम थापा  लेकाम–३, दार्चुला