जिल्ला अदालत खोटाङले रेश्मिका परियारको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका तीन जनालाई सफाइ दिएको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बतासेकी २६ वर्षीय रेश्मिकाको हत्यामा संलग्न भएको आरोपमा गत जेठ १२ गते पक्राउ परेका बतासेकै हेमन परियार, दिपक राई र दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीका दिपक श्रेष्ठलाई जिल्ला अदालतले सफाइ दिएको हो ।

जिल्ला न्यायाशीश फणीन्द्रप्रसाद पराजुलीको एकल इजलासबाट तीन जना आरोपीले असोज ५ गते सफाइ पाएका हुन् । घटनामा दोषी प्रमाणित नभएका कारण उनीहरुले सफाइ पाएको जिल्ला अदालतका श्रेस्तेदार रामचन्द्र मण्डलले बताए ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारीमा कार्यरत रेश्मिका २०८२ भदौ ३० गते राति बतासेको ह्याकुले र रमितेडाँडाबीचमा पर्ने मार्से सामुदायिक वनमा मृत फेला परेकी थिइन् ।

घटनामा बतासेकै १५/१६ वर्षका किशोर भने दोषी ठहर भइसकेका छन् । अदालतबाट दोषी ठहर भएका किशोरले हाल सजाय भुक्तान गरिरहेका छन् । १८ वर्षभन्दा कम उमेर भएका कारण नाम गोप्य राखिएको अभियुक्तलाई प्रहरीले २०८२ असोज १ गते पक्राउ गरेको थियो ।

पीडित पक्षले भने रेश्मिकाको बलात्कारपछि हत्यामा एक जना किशोरको मात्रै नभएर अन्य तीन जनाको पनि संलग्नता रहेको दाबी गर्दै आएका छन् ।

पीडित पक्षले थप तीन जना युवालाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन माग गर्दै उच्च अदालत ओखलढुंगामा २०८२ चैतमा किटानी जाहेरी दिएका थिए । सोही किटानी जाहेरीपछि उच्च अदालतको आदेशमा प्रहरीले तीन जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो ।

रेश्मिकाको सामूहिक बलात्कारपछि हत्या गरिएको दाबीसहित पीडित परिवार तथा दलित अधिकारकर्मी चरणबद्ध आन्दोलनमा छन् । पीडितले माइतीघर मण्डलामा समेत प्रदर्शन गरेका थिए । तीन जना आरोपीले सफाइ पाएपछि जिल्ला अदालत परिषरमा नाराबाजी भएको थियो ।

दिउँसो ४ बज्न लाग्दा सहकारीको कार्यालयबाट हिँडेकी रेश्मिका राति अबेरसम्म घर नपुगेपछि खोजी गर्नेक्रममा सडकभन्दा करिब दुई सयमिटर तल बाँस घारीमा मृत अवस्थामा भेटिएकी थिइन् ।

प्रत्यक्षदर्शीका अनुसार रेश्मिकाको चप्पल सडकमुनि कुनामा भेटिएको थियो । सडकदेखि शव रहेको स्थानसम्म घिसारिएको र झाडी मडारिएको देखिएको थियो । त्योभन्दा केही तल झोला र अन्डरवेर देखिएको थियो ।

सबैभन्दा तल घाँटीमा कालो सलले बेरेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । अन्डरवेर पाखामा भेटिए पनि शव भने लुगा लगाएको अवस्था देखिएको प्रत्यक्षदर्शीले बताएका छन् ।