सर्लाहीको लालबन्दी नगरपालिका-१२, जियाजोरमा पोखरीमा डुबेर बेपत्ता भएका बालकलाई २० घण्टापछि आज मध्यान्ह मृत फेला पारिएको छ ।

लालबन्दी नगरपालिका-११, हीरापुर बस्ने देवेन्द्र ठाकुरका छोरा १५ वर्षीय राजु ठाकुर हिजो अपरान्ह सबा ४ बजेदेखि पोखरीमा डुबेर बेपत्ता भएका थिए । लखन्देहीखोला पारी रहेको पोखरीमा डुबेर बेपत्ता भएका बालकलाई आज मध्यान्ह साढे १२ बजेतिर मृत फेला पारिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक श्याम थापा मगरले जानकारी दिए ।

इन्स्पेक्टर मगरका अनुसार डुंगा अर्थात् बोेट र बाँसको सहायताले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त गोताखोर टोलीद्वारा बालकको शव पानीमुनीबाट निकालिएको हो । डुबेर बेपत्ता बालकको खोजीका लागि सशस्त्र प्रहरी बल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयबाट समेत सशस्त्र प्रहरी नायब निरीक्षक भक्तबहादुर खत्रीको नेतृत्वमा आज बिहान सात जना गोताखोर टोली आइपुगेको थियो ।

उक्त टोली आएर खोजी सुरु गरेको एक घण्टामा बालकको शव निकालिएको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) अमरबहादुर खत्रीले बताए । यसअघि गएसाँझ पनि करिव ३ घण्टाजति नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले बालकको खोजी गरेका थिए ।

हिजो फेला नपरेका बालकलाई आज बिहानैदेखि पुनः गोताखोर टोली परिचालन गरेर खोजी गर्दा मृत फेला पारिएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । मृतक बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको इन्स्पेक्टर मगरले बताए ।

गाउँलेका अनुसार गर्मी छल्न राजुसँगै पोखरीमा पौडी खेल्न पुगेका अन्य तीन/चार जना बालक भने सकुशल बाहिर निस्किएका छन् ।