आइतबार दिउँसो करिब १:४० बजेको समयमा ललितपुरको ललितपुर महानगरपालिका-२४ धापाखेलमा सोबितकुमार थापाको साढे दुई तले पक्की घरसँगैको ट्रस्टले बनेको किचन करिब २० मिटर तल खस्यो ।

अविरल वर्षाका कारण भिरालो सतहमा बनेको उनको ट्रस्टले बनेको किचन २० मिटर तल खसेपछि उनको घर पनि पहिरोको जोखिममा पर्न गयो ।

थापाको साढे दुई तलेको पक्की घर पहिरोको जोखिममा परेपछि प्रहरीले उनको परिवारलाई सुरक्षित ठाउँमा बस्न सल्लाह दियो ।

प्रहरीको सुझाव अनुसार सोबितकुमारको तीन जनाको परिवार आइतबार नै आफन्तको घरमा गएर बसे ।

सोमबार बिहान करिब ६:३५ बजे थापाको साढे दुई तले घर भिरालो जमिन भासिएर एकाएक ढल्न पुग्यो ।

ललितपुर प्रहरीका प्रवक्ता गौतम मिश्रका अनुसार दुई तले घर ढल्दा मानवीय क्षति भने हुन पाएन ।

थापाको घर ढल्दा सोही स्थानमा रहेको सानो खोल्चा पनि थुनिन पुग्यो । खोल्चा थुनिन पुगे पनि जोखिम भने छैन ।

अविरल वर्षका कारण जमिन गल्दा भिरालो सतहमा बनेको घर ढल्न पुगेको हुन सक्ने प्रहरीको अनुमान छ ।