बडादसैँअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो स्वरूप माता चन्द्रघण्टा देवीको भक्तिभावका साथ पूजा तथा आराधना गर्दैछन् । नवरात्रका अवसरमा बिहानैदेखि देशभरका विभिन्न शक्तिपीठ तथा घरघरमा देवी चन्द्रघण्टाको उपासना भइरहेको छ ।

धर्मशास्त्रमा वर्णन गरिएअनुसार मस्तकमा घण्टीको आकारजस्तै अर्धचन्द्र धारण गरेकी हुनाले यिनको नाम चन्द्रघण्टा रहन गएको हो । स्वर्णजस्तै चम्किलो शारीरिक वर्ण भएकी देवी चन्द्रघण्टा दश बाहु (हात) ले युक्त छिन् । उनले हातमा त्रिशूल, गदा, तरबार, कमण्डलु, धनुष, बाण, कमल पुष्प र अक्षमाला धारण गरेकी छन् भने वरद तथा अभय मुद्रा प्रदर्शित गरेकी छन् । सिंह वाहन भएकी देवी चन्द्रघण्टाको घण्टीको तेजिलो ध्वनिले अत्याचारी, दानव, दैत्य तथा नकारात्मक शक्तिहरू डराउने शास्त्रीय मान्यता छ । वैज्ञानिक दृष्टिले यिनलाई सम्पूर्ण ध्वनि शक्तिको स्वरूप मानिन्छ भने नित्य पूजाका क्रममा साधकहरूले मणिपुर चक्रमा यिनको ध्यान गर्दछन् ।