मलंगवा,३० असाेज- सरकारले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ तोक्नेदेखि बाढीपहिरो प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नेसम्मका विभिन्न १३ वटा निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका १३ निर्णय सार्वजनिक गरिएको हो ।

शुक्रबार बसेको बैठकले जापान सरकारबाट प्राप्त हुने २९८ मिलियन जापानी येन बराबरको आपतकालीन अनुदान सहायता र जर्मनीबाट प्राप्त हुने २० मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । त्यस्तै, बुढीगण्डकी विकास प्राधिकरण विधेयक र राष्ट्रिय रोजगारसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको सञ्चारमन्त्री विक्रम तिमल्सिनाले जानकारी दिए ।

बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित गोरखाको चुमनुब्री, धार्चे र आरुघाट गाउँपालिका तथा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका वडा नम्बर १ र २ लाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय पनि बैठकले गरेको छ ।

असोज ८ देखि ११ गतेसम्मको वर्षाका कारण बाढीपहिरोबाट प्रभावित बागलुङका गलकोट नगरपालिका र ढोरपाटन नगरपालिकालाई पनि तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिने भएको छ ।