मलंगवा,३० असाेज-धनुषाको जनकपुरधामबाट प्रहरीले भन्सार छली गरी ल्याइएका साडी तथा कुर्ता–सुरुवालसहित मोटरसाइकल बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आज बिहान करिब ७ बजे जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित शोभा पार्टी प्यालेस नजिकबाट ती सामान बरामद गरिएको हो।

प्रहरी प्रवक्ता एवं डीएसपी ओमप्रकाश खनालका अनुसार रेल्वे प्रहरी चौकीबाट खटिएको चेकिङ टोलीले मोटरसाइकलमा प्लास्टिकको बोराभित्र सामान राखेर ल्याउँदै गरेका एक व्यक्तिलाई रोक्न खोजेको थियो। तर, प्रहरीलाई देखेपछि ती व्यक्ति मोटरसाइकल र सामान छाडेर फरार भएका थिए।

प्रहरीले बोराभित्र जाँच गर्दा भन्सार छली गरी ल्याइएका साडी तथा कुर्ता–सुरुवाल फेला पारेको जनाएको छ। बरामद कपडा र मोटरसाइकलको अनुमानित मूल्य ४ लाख ५० हजार रुपैयाँ रहेको छ।

बरामद सामान र मोटरसाइकल आवश्यक कानुनी प्रक्रिया पूरा गरी जनकपुर भन्सार कार्यालय पठाउने प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।