बलिउड अभिनेता टाइगर श्रॉफमाथि गोली प्रहारको घटना सार्वजनिक भएपछि अभिनेता सलमान खान र लरेन्स बिश्नोईबीचको पुरानो विवाद फेरि चर्चामा आएको छ । यसैबीच, जोधपुरका बिश्नोई समाजसँग सम्बन्धित देवन्द्र बुढियाले सलमान खानलाई समाजसँग माफी मागेर विवाद अन्त्य गर्न आग्रह गरेका छन् ।

बुढियाका अनुसार, कुनै समुदायसँग माफी माग्दैमा व्यक्तिको प्रतिष्ठा घट्दैन । सलमान खानले आफैँ अघि सरेर माफी मागेमा लामो समयदेखि चलिरहेको विवाद संवादमार्फत शान्तिपूर्ण रूपमा समाधान हुन सक्ने उनको भनाइ छ ।

भारतीय समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै बुढियाले आफूले करिब डेढ वर्षअघि पनि सलमान खानलाई सम्झाउने प्रयास गरेको दाबी गरेका छन् । उनले सलमानलाई आफ्नो स्टारडमको ख्याल गर्न र विवाद समाधान गर्न गम्भीर हुन आग्रह गरेको बताए ।

बुढियाका अनुसार, उनले त्यतिबेला सलमानलाई आफ्नो ज्यानसमेत जोखिममा पर्न सक्ने भन्दै विवादलाई बेवास्ता नगर्न सुझाव दिएका थिए । सलमानले माफी माग्ने विषयमा सहमति जनाए पनि पछि भेट नभएको उनको दाबी छ ।