मलंगवा, ०५ कात्तिक – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन र अमेरिकासँग त्रिपक्षीय शान्ति वार्ता गर्न सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफसँग बुधबार रुसको सेन्ट पिटर्सबर्गमा भएको भेटपछि पुटिन वार्ताका लागि सहमत भएका हुन् ।

अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच युक्रेन युद्ध अन्त्य गर्ने विषयमा कूटनीतिक छलफल भइरहेका बेला त्रिपक्षीय वार्ताको तयारी अघि बढेको हो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार पुटिनका विदेश मामिला सल्लाहकार युरी उशाकोभले वार्ता नोभेम्बर १० पछि हुन सक्ने बताएका छन् । अबुधाबीमा वार्ता हुन सक्ने सम्भावना छ । यद्यपि, वार्ताको मिति र विस्तृत कार्यतालिका निश्चित भइसकेको छैन ।

सीएनएनको विश्लेषणअनुसार ट्रम्पले रुससँगको सहमतिलाई युद्ध अन्त्य गर्ने अवसरका रूपमा हेरेका छन् भने पुटिनले अमेरिकासँगको वार्ताबाट रुसको रणनीतिक हित अघि बढाउन खोजिरहेका छन् । रुसमाथिका प्रतिबन्ध, ऊर्जा व्यापार र युक्रेनको भूभागसम्बन्धी विवाद वार्ताका महत्त्वपूर्ण पक्ष हुन् ।

रोयटर्सका अनुसार पुटिन र विटकफबीचको भेटमा युक्रेन युद्ध अन्त्य गर्ने सम्भावित उपायबारे छलफल भएको थियो । तर, युद्ध अन्त्य गर्ने सर्तमा रुस र युक्रेनबीच अझै मतभेद छन् ।