मलंगवा, कात्तिक,१० -बाराको सुवर्ण गाउँपालिका–१ चरमोहना गाउँमा फेरि चोरीको घटना सार्वजनिक भएको छ। स्थानीय रामनरेश सिंहको घरबाट करिब २० तोला सुनका गरगहना चोरी भएको घटना बाहिरिएपछि गाउँमा सुरक्षा चिन्ता बढेको स्थानीय युवा ईन्जिनियर सुनील कुमार यादवले बताएका छन्।

चरमोहना गाउँमा यसअघि पनि चोरीका घटना भएका थिए। केही समयअघि चरमोहना लगायतका गाउँमा एकै दिन चारवटा घरमा चोरी भएको घटना सार्वजनिक भएको थियो। लगातार चोरीका घटना दोहोरिन थालेपछि स्थानीयवासी त्रसित बनेका छन्।

यसअघि इन्जिनियर यादवले गाउँमा चोरीका घटना नियन्त्रण गर्न सीसीटीभी क्यामेरा जडान, सडक बत्तीको व्यवस्था तथा प्रहरी गस्ती बढाउन माग गरेका थिए। उनले गाउँको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए।