मलंगवा, कात्तिक,१० – सर्लाहीको लालबन्दी नगरपालिकाबाट प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । लालबन्दी नगरपालिका–२, नवलपुर बस्ने अन्दाजी २४ वर्षीय विशाल प्रधानलाई १५ सय ट्याब्लेट लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, लालबन्दी नगरपालिका–४ स्थित जब्दी पुल भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय लालबन्दी र ट्राफिक प्रहरीको संयुक्त टोलीले सोमबार सवारी चेकजाँच गरिरहेको थियो । सोही क्रममा लालबन्दीबाट जब्दीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०५४ प १४४९ नम्बरको स्कुटरलाई शंका लागी जाँच गर्दा उक्त लागुऔषध बरामद भएको हो ।प्रधानले स्कुटरको डिक्कीभित्र हरियो कपडाको झोलामा लुकाइछिपाई ल्याउँदै गरेको अवस्थामा नाइट्राजेपाम नामक १५ सय ट्याब्लेट लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।लागुऔषध र स्कुटरसहित पक्राउ परेका प्रधानलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लालबन्दीबाट थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक किशोर केसीले जानकारी दिए ।