मलंगवा,कात्तिक, ११ –  नेपाली कांग्रेसकी सीता थपलिया (उर्मिला)को डेरामा चोरी भएको छ ।

चोरी आरोपमा प्रहरीले चार भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहारका २५ वर्षीय विकास पोदार, १९ वर्षीय राजु पोदार, ३३ वर्षीय लल्लु पोदार भनिने राजेन्द्र कुमार र ४६ वर्षीया विणा देवी छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका मध्ये विणा र विकास आमाछोरा रहेको प्रहरीले बताएको छ ।

उनीहरूले कलंकीको तासिङडोलमार्ग स्थित किसन सिंह बस्नेतको घर र उक्त घरमा डेरा लिई बस्ने सांसद थपलियाको डेराकोठाका साथै कलंकीकै रंजित कोलोनीस्थित निरन्जन नेपालको घरमा चोरी गरेको पाइएको प्रहरीले बताएको छ ।

सुर्खेतबाट ५ कात्तिकमा काठमाडौं आएर कोठा पुग्दा चोरी भएको थाहा पाएपछि सांसद थपलियाले प्रहरीलाई खबर गरेकी थिइन् । त्यसपछि अनुसन्धानमा जुटेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरू चोरीको सामान पोका पारेर भारत जाने तयारीमा रहेको अवस्थामा पक्राउ परेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रामेश्वर कार्कीले बताए ।

उनीहरूले सुनचाँदीका गरगहनादेखि वाइनसमेत चोरी गरेर लगेको पाइएको प्रहरीले बताएको छ । दशैंको टार्गेट गरेर उनीहरुले चोरी गरेको र सामान भने भारत लगेर बेच्ने तयारीमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनीहरूबाट प्रहरीले विभिन्न आकार प्रकारका ३२ थानका सुनचाँदीका गरगहना तथा भाँडावर्तन बरामद गरेको छ ।