मलंगवा,कात्तिक,१२–चक्रवात ‘अर्णव’ कमजोर भएर न्यूनचापीय प्रणालीमा परिणत भए पनि नेपालमा वर्षाको जोखिम कायमै रहेको छ। मौसमविद् विनोद पोखरेलका अनुसार प्रणालीसँग सम्बन्धित बादल नेपाल प्रवेश गरिसकेको भए पनि बिहीबार बिहानसम्म वर्षा सुरु भएको छैन।

पोखरेलले बिहीबार दिउँसोदेखि वर्षा सुरु हुने र शुक्रबार भारी वर्षा हुने सम्भावना बढी रहेको बताएका छन्। उनका अनुसार बिहीबार रातिदेखि शनिबार बिहानसम्म विशेष सतर्कता अपनाउनुपर्नेछ।

बिहीबारको पूर्वानुमानमा जोखिममा रहेका जिल्लाको संख्या घटेको देखिए पनि मौसमी प्रणालीले ठूलो क्षेत्र ओगटेकाले जोखिम पूर्ण रूपमा नटरेको पोखरेलले बताएका छन्। माथिल्लो वायुमण्डलमा रहेको न्यूनचापीय रेखा (अपर लेभल ट्रफ) सँग उक्त प्रणालीको अन्तरक्रिया हुँदा विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने उनको भनाइ छ।वर्षा हुने स्थान, समय र मात्रामा परिवर्तन आउन सक्ने भएकाले मौसमको नियमित अपडेट लिन तथा आधिकारिक सूचनामा ध्यान दिन पोखरेलले आग्रह गरेका छन्। सम्भावित वर्षाका कारण बाढी, डुबान र पहिरोको जोखिम हुन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन आवश्यक देखिएको छ।