बाजुरामा शनिबार बिहान भूकम्प जाँदा घरहरूमा क्षति पुगेको छ।

शनिबार बिहान सवा ४ बजे बाजुराको जगन्नाथ गाउँपालिका-५ गोत्री केन्द्रविन्दु ५.२ म्याग्नेच्यूडको भूकम्प गएको थियो।

घरभित्र सुतिरहेका मानिसहरू भूकम्प आएपछि घरबाहिर निस्केका थिए। जगन्नाथ गाउँपालिका-५ का वडाध्यक्ष गौरी सार्कीले भूकम्पले धेरै घरहरूमा आंशिक क्षति भएको बताएका छन्।

‘घरहरू चर्किएका छन्। विवरण संकलन गरिररहेका छौं,’ उनले भने।

बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले भूकम्पले पुराना र जीर्ण घरहरू भत्काएको जानकारी दिए। मानवीय क्षति भने नभएको उनले बताएका छन्।

प्रहरी र स्थानीय जनप्रतिनिधिले क्षतिको विवरण संकलन गरिरहको उनले बताए।