सर्लाहीको लालबन्दी नगरपालिका–१७, रानिगन्जस्थित प्रिन्स क्रसर उद्योग पूर्णरुपमा बन्द गर्न निर्देशन दिइएको छ ।

यही पुस २ गते बसेको जिल्ला अनुुगमन समितिको बैठकले मापदण्ड विपरीत संचालित प्रिन्स क्रसरसहित जिल्लाका अन्य केही क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको थियो । सो निर्णय बिपरीत रातिको समयमा उद्योग सञ्चालन भइरहेको भन्ने स्थानीयबाट गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोपालकुमार अधिकारीसहितको सुरक्षा अधिकारीको टोलीले आज अपरान्ह स्थलगत अनुुगमन गरी उद्योगलाई पूर्णरुपमा बन्द गराउन स्थानीय प्रहरी युनिटका रुपमा रहेको इलाका प्रहरी कार्यालय लालबन्दीलाई निर्देशन दिएको हो ।

यो क्रसर उद्योगले सार्वजनिक जग्गा मिचेको, विद्यालय र गाउँबस्ती नजिकै रहेकाले मापदण्ड विपरीत हुने जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । जिल्ला अनुुगमन समितिको निर्णय विपरीत उद्योग सञ्चालन गरिए कानूूनि कारवाही अघि बढाइने प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए । उनीसँगै सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रबहादुर सिंह, सशस्त्र प्रहरी उपरीक्षक (एसपी) विनोदराज खनाल, राष्ट्रिय अनुसन्धानका निमित्त जिल्ला प्रमुख एवं प्रमुख अनुसन्धान अधिकृत रामरिजन यादवलगायत भएर प्रिन्स क्रसर उद्योग रानिगन्जको अनुुगमन गरेका हुन् ।

जिल्लास्थित सुरक्षा अधिकारीले क्रसर उद्योग आसपासका स्थानीयसँग छलफल समेत गरेका जिल्ला प्रशासन कार्यालयले जनायो ।