प्रहरीको प्रारम्भिक अनुसन्धानमा मंसिर १६ गते बिहान सिरहाको बरियारपट्टी गाउँपालिका–१ छोटकी टोली कचनारीमा गाडीको ठक्करबाट मृत्यु भएका सशस्त्र प्रहरीका नायव निरीक्षक ४६ वर्षीय लक्ष्मण यादवको तस्करहरूले हत्या गरेको पाइएको छ ।मदिरा तस्करीमा संलग्न गिरोहलाई रोक्ने कोसिस गर्दा तस्करहरू सवार गाडीले सशस्त्रका सई यादवलाई ठक्कर दिएर फरार भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितका अनुसार उक्त घटनामा भारतीय र नेपाली गरी पाँच जना संलग्न रहेको र उनीहरूको खोजी कार्य भइरहेको छ ।

सशस्त्र प्रहरी बेस क्याम्प बडहरीमा कार्यरत सई यादवले मदिरा लिएर नेपालबाट एउटा जीप भारत जाँदैछ भन्ने सूचनाका आधारमा गस्तीमा खटिएका थिए । प्रहरीका अनुसार उनीसहित केही दूरीमा फरक–फरक स्थानमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका ८ जना प्रहरी त्यसबेला ड्युटीमा थिए ।

बिहानको ३ बजेको समयमा सई यादव गस्ती गर्दै हिँडिरहेकै स्थानमा आइपुगेको जीपलाई उनले रोक्न खोज्दा ठक्कर दिएर भारततर्फ भागेको थियो । अन्य प्रहरीहरू घटनास्थलदेखि करिब सय मिटरको दूरीमा मात्रै भए पनि गाडी तीव्र गतिमा भागेकाले प्रतिकार गर्न नसकिएको प्रहरीको भनाइ छ । घटनालगत्तै उनलाई उपचारका लागि लहानस्थित प्रादेशिक अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।