खानेपानी तथा सरसफाई उपभाेक्ता समिति हरिवनकाे पाँचाैं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ ।

आइतबार दिउँसाे हरिवन नगरपालिका-८ स्थित संस्थाकाे आफ्नै कार्यालय परिसरमा साधारण सभा सम्पन्न भएकाे हाे । हरिवन-८ का वडाध्यक्ष समेत रहेका संस्थाका अध्यक्ष प्रज्वल ढुंगानाकाे अध्यक्षता एवं मधेश प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहाकाे प्रमुख आतिथ्यता रहेकाे सभा उद्घाटन समाराेहमा हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलानकाे विशिष्ट आतिथ्यता रहेकाे थियाे । संस्थाका सचिब नविन थापाले सञ्चालन गरेकाे सभामा अध्यक्ष ढुंगानाले हालसम्मकाे प्रगति एवं भावि कार्ययाेजना तथा काेषाध्यक्ष यशाेदा भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

एउटा डिप बाेरिङबाट मात्र सञ्चालन हुँदै आएकाे खानेपानी याेजनामा केही समयअघि मात्र हरि सुबेदीले उपलब्ध गराएकाे जग्गामा गाडिएकाे अर्काे डिप बाेरिङबाट समेत ओभरहेड ट्यांकीमा पानी चढाउन सुरु गरिएकाे छ । चालु आवमा थप अर्काे डीप बाेरिङ गाडेर ३ वटा माेटर एकसाथ चलाउँदै उपभाेक्तालाई चाैबिसै घण्टा खानेपानी उपलब्ध गराउने तयारी भइरहेकाे अध्यक्ष ढुंगानाले जानकारी दिए । त्यस्तै दाेहाेराे पाइपलाइन विस्तार गर्दै हाल कायम एक हजार ८५० घरधुरीबाट तीन हजार घरधुरीमा खानेपानी सेवा पुर्याउने तयारी समेत भइरहेकाे छ ।

संस्थाले गत आव २०८०/०८१ मा ५४ लाख ४ हजार ९२२ रुपैंया काराेबार गर्दै ११ लाख ६४ हजार ९७१ रुपैया खुद मुनाफा गरेकाे छ । दुई वर्षअघि वर्तमान समितिले कार्यभार सम्हाल्दा ३९ लाख रूपैया आर्थिक बचत रहेकामा हाल ७५ लाख पुगेकाे अध्यक्ष ढुंगानाले जानकारी दिए ।

कार्यक्रममा हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रतिक जंग कार्की, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत विभिन्न राजनैतिक दलका नेताहरुकाे आतिथ्यता रहेकाे थियाे ।