देशभर शहीद दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना भइरहेका बेला सर्लाही जिल्लाको सदरमुकाम मलंगवा स्थित शहीद चौकमा कुनै औपचारिक कार्यक्रम आयोजना भएन।

शहीद दिवस नेपाली जनताका लागि विशेष महत्त्व राख्ने दिन हो, जसमा प्रजातन्त्र र जनअधिकारका लागि ज्यान बलिदान गर्ने वीर सपूतहरूको सम्झना गरिन्छ। तर, यस वर्ष मलंगवाको ऐतिहासिक शहीद चौकमा न त कुनै माल्यार्पण कार्यक्रम देखियो, न त कुनै औपचारिक श्रद्धाञ्जली सभा।

स्थानीय बासिन्दाहरूले शहीदहरूको सम्मानमा कार्यक्रम नहुँदा असन्तुष्टि व्यक्त गरेका छन्। स्थानीय युवा समाजसेवी भन्छन्, “शहीद चौकमा हामीले पहिला वर्ष केही कार्यक्रम हुने गरेको भए पनि यसपालि कुनै औपचारिक गतिविधि भएन। सरकारले मात्र होइन, राजनितिक दल लगायत हामी नागरिकले पनि शहीदहरूको सम्झनामा सक्रिय हुनुपर्छ।”

यसअघि, मलंगवा शहीद चौकमा विभिन्न संघसंस्थाहरूले माल्यार्पण तथा श्रद्धाञ्जली सभा आयोजना गर्दै आएका थिए। तर, यस वर्ष कुनै पहल नहुनु दुःखद भएको नागरिक समाजका सर्लाहीका महासचिब शिवचन्द्र चौधरी बताउँछन्।

स्थानीय प्रशासन तथा सरोकारवाला निकायहरूले मधेशका जिल्लामा अझ शहीद दिवसको महत्त्वपूर्ण दिनलाई उपेक्षा नगरी, सम्मानपूर्वक मनाउने विषयमा चासो दिनुपर्ने आवश्यक देखिन्छ।