गोडैता नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रको प्रवर्द्धन गर्दै महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई साइकल वितरण तथा S.E.E. परीक्षामा A+ ल्याएका विद्यार्थीका अभिभावकलाई २५,००० रुपैयाँको प्रोत्साहन राशी हस्तान्तरण गरेको छ।

नगरपालिकाले आयोजित विशेष समारोहमा नगर प्रमुख देवेन्द्र यादवको अध्यक्षता तथा जिल्ला समन्वय समिति सर्लाही प्रमुख कौशल किशोर सिहंको प्रमुख आतिथ्यतामा स्वास्थ्य स्वयंसेविकाहरूलाई साइकल प्रदानगरेको छ । ज उनीहरूलाई समुदायमा सहज रूपमा स्वास्थ्य सेवा पुर्‍याउन मद्दत गर्नेछ। साथै, नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयहरूबाट S.E.E. परीक्षामा A+ ल्याउने छात्र-छात्राहरूका अभिभावकलाई प्रोत्साहनस्वरूप नगद २५,००० रुपैयाँ हस्तान्तरण गरियो।

नगर प्रमुखले सम्बोधन गर्दै भने, “शिक्षा र स्वास्थ्य कुनै पनि समुदायको मेरुदण्ड हो। नगरपालिकाले विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि निरन्तर लगानी गर्दै आइरहेको छ। यस प्रकारका योजनाहरूले शिक्षामा प्रतिस्पर्धा बढाउने र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई आफ्नो कार्य सरल बनाउन सहयोग पुर्‍याउने विश्वास छ।”

कार्यक्रममा सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ लगायत नगरपालिकाका जनप्रतिनिधि, शिक्षक, विद्यार्थीका अभिभावक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।