मुलुकभरमा सबैभन्दा बढी स्थानीय तह रहेको सर्लाहीमा २० पालिकामध्ये कार्यसम्पादन मूूल्याङ्कनमा ईश्वरपुर नगरपालिका पहिलो बनेको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा सबैभन्दा बढी अङ्क प्राप्त गरी ईश्वरपुर नगरपालिका जिल्लामा पहिलो बनेको हो । ईश्वरपुरले कुल १०० अङ्कमा ५६.३ अङ्क प्राप्त गरेको छ ।५५.८ अङ्क प्राप्त गरी पर्सा गाउँपालिका दोस्रो र ५५.१ अङ्क प्राप्त गरी लालबन्दी नगरपालिका तेस्रो भएका छन् । चौंथो भएको रामनगर गाउँपालिकाले ५२.६, पाँचौं भएको हरिवन नगरपालिकाले ५०.७, छैठौं भएको धनकौल गाउँपालिकाले ५०.५, सातौं भएको कौडेना गाउँपालिकाले ४९.८, आठौं भएको चक्रघट्टा गाउँपालिकाले ४७.७, नवौं भएको विष्णु गाउँपालिकाले ४७.४ र १० औँ भएको ब्रह्मपुरी गाउँपालिकाले ४५.९ अङ्क प्राप्त गरेका छन् ।त्यस्तै कार्यसम्पादन मूल्याङ्कनमा हरिपूर्वा नगरपालिका र बरहथवा नगरपालिकाले समान ४५.८ अङ्क प्राप्त गरेका छन् । त्यसैगरी चन्द्रनगर गाउँपालिकाले ४४.८, गोडैता नगरपालिकाले ४४.६, हरिपुर नगरपालिकाले ४४.५, कविलासी नगरपालिकाले ४२.३, बसबरिया गाउँपालिकाले ३९.२, मलङ्गवा नगरपालिकाले ३५.९ र बागमती नगरपालिकाले ३५.२ अङ्क प्राप्त गरेका छन् ।कार्य सम्पादनमा जिल्लामै सबैभन्दा कमजोर र पुछार रहेको बलरा नगरपालिकाले ३४.५ अङ्क मात्रै प्राप्त गरेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ वटा सूचकको आधारमा मूल्याङ्कन गर्छ ।ती सूचकहरु मध्ये पालिकाले समयमै सभामा बजेट पेश गरे/नगरेको, पारित गरे÷नगरेको, खर्च अवस्था, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे/नगरेको, राजस्वको विभाजन गरे/नगरेकोलगायत पर्छन् ।