चालु आर्थिक वर्षको छ महिनामा सडक दुर्घटनामा परेर एक हजार २३३ जनाको निधन भएको छ ।

लापराहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा मृत्यु हुनेहरुको सङ्ख्या गत आवको सोही अवधिको तुलनामा वृद्धि भएको हो ।गृह मन्त्रालयका अनुसार अघिल्लो आव ०८०/८१ को साउनदेखि पुससम्म १२ हजार ८५६ सडक दुर्घटनामा एक हजार १४९ जनाको मृत्यु भएको थियो । चालु आवको वर्षको पुस मसान्तसम्म ११ हजार ३३८ सडक दुर्घटना हुँदा एक हजार २३३ जनाको मृत्यु भएको छ ।गत वर्षको ६ महिनाको तुलनामा यस वर्षको ६ महिनामा सडक दुर्घटनाको सङ्ख्या घटे पनि मृत्यु हुनेको सङ्ख्यामा वृद्धि भएको छ । गत मङ्सिरको तुलनामा पुसमा सडक दुर्घटना बढे पनि मृत्यु हुनेको सङ्ख्या घटेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए ।मन्त्रालयका अनुसार गत साउनमा एक हजार ६२८ सडक दुर्घटनामा १५२, भदौमा एक हजार ६१९ दुर्घटनामा १७४ जनाको मृत्यु भएको थियो । गत असोजमा एक हजार ८७३ सडक दुर्घटनामा २००, कात्तिकमा एक हजार ९२८ दुर्घटनामा परी २५८ जनाको निधन भएको विवरण छ ।अघिल्लो गत मङ्सिरमा दुई हजार १४ सडक दुर्घटनामा परी २५२ र पुसमा सबैभन्दा बढी दुई हजार २७६ दुर्घटनामा परेर १९७ जनाको निधन भएको छ ।मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार गण्डकी, काठमाडौं उपत्यका र कर्णालीमा दुर्घटनाको सङ्ख्या घटे पनि मृत्यु हुनेको सङ्ख्यामा बढोत्तरी भएको छ । मधेस प्रदेश र बागमती (काठमाडौँ उपत्यका) बाहेकमा दुर्घटनाको सङ्ख्या बढे पनि मृत्यु हुनेको सङ्ख्या घटेको छ ।

भयावह आत्महत्या

मन्त्रालयका अनुसार चालु आवको ६ महिनामा तीन हजार १३४ जनाले आत्महत्या गरेका छन् । गत वर्षको सोही अवधिमा तीन हजार चार सय ५७ जनाले आत्महत्या गरेका थिए । गत वर्षको छ महिनाको तुलनामा आत्महत्याको कुल सङ्ख्या घटेको छ ।यस्तै गत मङ्सिरको तुलनामा र पुसमा आत्महत्याको सङ्ख्या घटेको छ । यस वर्षको कात्तिकमा सबैभन्दा बढी छ सय २८, मङ्सिरमा चार सय ७१ र पुसमा चार सय २५ जनाले आत्महत्या गरी ज्यान फालेका गृह मन्त्रालयले जनाएको छ ।

साइबर अपराध

मन्त्रालयका अनुसार चालु आवको छ महिनामा १० हजार ७७६ वटा साइबर अपराधसँग जोडिएका निवेदन दर्ता भएका छन् । सामाजिक सञ्जालको दुरुपयोग गरेर अपराध गर्नेहरूले सबैभन्दा बढी टेलिग्राम प्रयोग गरेको पाइएको छ । कुल एक हजार १८७ वटा निवेदन टेलिग्रामसँग जोडिएको दर्ता भएका छन् ।यस्तै, फेसबुक प्रयोग गरेर एक हजार ९८, इन्टाग्राम प्रयोग भएका ७३१ र टिकटकसँग जोडिएका १५३ वटा निवेदन दर्ता भएका छन् । आव २०८०/८१ मा कुल १९ हजार ७३०, आव २०७९/८० मा नौ हजार १३ वटा साइबर अपराधसँग जोडिएका निवेदन दर्ता भएका मन्त्रालयले जनाएको छ ।

-राससको सहयोगमा