भारतीय जनता पार्टी (भाजपा) ले शालीमार बाग क्षेत्रकी विधायक रेखा गुप्तालाई नयाँ दिल्लीको मुख्यमन्त्रीको रूपमा चयन गरेको छ। आज साँझ सम्पन्न भाजपा विधायक दलको बैठकमा रेखा गुप्तालाई सर्वसम्मतिले नेता चुनेर राजधानीको नेतृत्व सुम्पिएको हो।

रेखा गुप्ता ५० वर्षीया राजनीतिज्ञ हुन्, जसले यसअघि दिल्ली विश्वविद्यालय विद्यार्थी संघको सचिव र अध्यक्षको रूपमा सेवा गरिसकेकी छिन्। उनले २००७ र २०१२ मा उत्तरी पीतमपुराबाट पार्षदको रूपमा निर्वाचित भएकी थिइन्। यसपटकको विधानसभा चुनावमा उनले आम आदमी पार्टीकी वन्दना कुमारीलाई २९,५९५ मतान्तरले पराजित गर्दै शालीमार बाग क्षेत्रबाट विधायक पद हासिल गरेकी हुन्।

भाजपाको यो निर्णयसँगै रेखा गुप्ता दिल्लीको चौथो महिला मुख्यमन्त्री बन्नेछिन्। यसअघि शीला दीक्षित, सुषमा स्वराज र आतिशीले यो पद सम्हालेका थिए। रेखा गुप्ताको नियुक्तिलाई राष्ट्रिय स्वयंसेवक संघ (RSS) को समर्थन रहेको बताइएको छ, जसले उनको नाम अघि सारेको थियो।

नयाँ सरकारमा प्रवेश वर्मालाई उप-मुख्यमन्त्रीको रूपमा नियुक्त गरिएको छ। प्रवेश वर्मा पूर्व मुख्यमन्त्री साहिब सिंह वर्माका पुत्र हुन् र हालै सम्पन्न चुनावमा नयाँ दिल्ली क्षेत्रबाट आम आदमी पार्टीका नेता अरविन्द केजरीवाललाई पराजित गरेका थिए।

मुख्यमन्त्री र उप-मुख्यमन्त्रीको शपथ ग्रहण समारोह भोलि फेब्रुअरी २० तारिखका दिन दिउँसो १२:३५ बजे रामलीला मैदानमा आयोजना हुनेछ। समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न केन्द्रीय मन्त्री, भाजपा र NDA शासित राज्यका मुख्यमन्त्रीहरू, उद्योगपति, फिल्म स्टार, क्रिकेट खेलाडी, साधु-सन्त र कूटनीतिक व्यक्तित्वहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।

रेखा गुप्ताको नेतृत्वमा नयाँ दिल्लीले विकासको नयाँ अध्याय सुरु गर्ने विश्वास गरिएको छ। भाजपा नेतृत्वले उनको अनुभव र समर्पणलाई मध्यनजर गर्दै राजधानीको समृद्धि र प्रगतिको लागि महत्वपूर्ण कदम चालेको छ।