सर्लाहीको लालबन्दीमा जारी दोस्रो लालबन्दी महोत्सव–२०८१ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय, सर्लाही नवलपुरद्वारा ट्राफिक सचेतनामूलक स्टल स्थापना गरी सञ्चालन गरिएको छ। मिति २०८१ फागुन २३ गतेदेखि सुरू भएको महोत्सवमा ट्राफिक नियम तथा दुर्घटना न्यूनीकरणसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले यो स्टल राखिएको हो।

स्टलमा महोत्सव अवलोकन गर्न आउने सर्वसाधारणलाई ट्राफिक नियम, दुर्घटना रोकथामका उपाय तथा सडक सुरक्षाका महत्वपूर्ण पक्षहरूबारे जानकारी प्रदान गरिएको छ। ट्राफिक चिन्ह, संकेत, विभिन्न नियन्त्रण उपकरणहरू (Traffic Control Devices) तथा श्रव्य-दृश्य सामाग्रीहरू (Short Video) प्रदर्शन गरी जनचेतना अभिवृद्धि गर्ने प्रयास गरिएको छ। साथै, सूचना समेटिएका पर्चा तथा पम्प्लेटहरू वितरण गरी नागरिकलाई ट्राफिक नियम पालना गर्न प्रेरित गरिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, सर्लाही नवलपुरका प्रहरी निरीक्षक राजोष घिमिरेले स्टल सञ्चालनबारे जानकारी दिँदै भने, “सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको पालना गराउनका लागि जनचेतना आवश्यक छ। यस महोत्सवको माध्यमबाट नागरिकलाई ट्राफिक सुरक्षाबारे सचेत गराउने उद्देश्यले स्टल सञ्चालन गरिएको हो। हामीले ट्राफिक चिन्ह, सवारी नियमसम्बन्धी जानकारीमूलक सामाग्री, श्रव्य-दृश्य प्रदर्शनी र पर्चा वितरण गरी ट्राफिक सचेतना फैलाउने प्रयास गरिरहेका छौं।”

उक्त स्टल अवलोकन गर्न आएका सर्वसाधारणले ट्राफिक नियमबारे नयाँ कुरा सिक्न पाएको प्रतिक्रिया दिएका छन्। ट्राफिक सचेतनामूलक यस्ता अभियानहरूले सवारी दुर्घटना न्यूनीकरणमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।