सुनौलो सिसौट नेपाल संस्थाको आयोजनामा र नेपाल पत्रकार महासंघ सर्लाही शाखाको सहकार्यमा सर्लाही सदरमुकाम मलंगवामा दुई दिने पत्रकारिता सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।

तालिममा पत्रकारिता, समाचार लेखन र एंगलको छनोट, रिपोर्टिङमा ध्यान दिनुपर्ने कुराहरू, मल्टिमिडिया प्रयोग, पत्रकारले अपनाउनु पर्ने सतर्कता, मिथ्या सूचना र पत्रकार आचारसंहिता लगायतका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो। साथै, फेलोसिपका लागि नेपाल तथा अन्तर्राष्ट्रिय अभ्यासहरूको बारेमा जानकारी प्रदान गरिएको छ ।

दुई दिने तालिम सुनौलो सिसौट नेपालका अध्यक्ष अरुण प्रताप सिंहको अध्यक्षतामा आयोजना गएिको कार्यक्रमको उद्घाटन सत्रमा जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशलकिशोर सिंह प्रमुख अतिथि रहेका थिए भने प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ विशेष अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक रविन्द्र कार्की, नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरी लगायतको उपस्थिति रहेको थियो।

तालिमका प्रशिक्षक अजित तिवारी र दिवाकर उप्रेतीले सहभागीहरूलाई प्रशिक्षण प्रदान गरेका थिए। तालिमको समापनमा नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुर, अध्यक्ष सिंह, प्रशिक्षक तिवारी र उप्रेतीले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका छन्।