सर्लाही जिल्लाको सदरमुकाम मलंगवामा रहेको नेपाल नेत्रज्योति संघ, सर्लाही शाखामा अनुगमन तथा नयाँ बिरामी भर्ना वार्ड भवनको शिलान्यास कार्यक्रम शनिबार सम्पन्न भएको छ।

कार्यक्रम मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय शत्रुधन प्रसाद सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा नेपाल नेत्रज्योति संघका कार्यबाहक अध्यक्ष सत्यनारायण अग्रवालको अध्यक्षता, जिल्ला समन्वय समिति सर्लाहीका उपप्रमुख जितेन्द्र महतो कुशवाहाको विशेष आतिथ्य, तथा मलंगवा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष मुकेश कुमार जयसवालको आतिथ्यता रहेको थियो।

शिलान्यास कार्यक्रममा मन्त्री सिंहले केन्द्रको सेवा र पूर्वाधारहरूको निरीक्षण (अनुगमन) समेत गर्नुभएको थियो। निरीक्षणपछि उहाँले आँखा परिक्षण समेत गराउनुभएको थियो।

मन्त्री सिंहले नेपाल नेत्रज्योति संघ सर्लाहीलाई आधुनिक फेको मेसिन (Phaco Machine) उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै, संघको सेवा विस्तारका लागि थप भवन निर्माणमा समेत सहयोग गर्ने घोषणा गर्नुभयो।

वडाध्यक्ष मुकेश कुमार जयसवालका अनुसार मधेश प्रदेश सरकारको ३० लाख रुपैयाँ बजेट सहयोगमा निर्माण हुन लागेको नयाँ भवन असार मसान्तसम्म सम्पन्न गरिने लक्ष्य राखिएको छ।
भवन सम्पन्न भएपछि आँखा उपचार सेवामा गुणस्तर वृद्धि भई सर्वसाधारणलाई अझ सहज सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा मलंगवा नगरपालिका वडा नं. ९ का वडाध्यक्ष चन्देश्वर राय, वडाध्यक्ष प्रमोद राय, नेपाल नेत्रज्योति संघ सर्लाहीका प्रमुख डा. निरंजन साह, सहसचिव तिलक क्षेत्री लगायत स्थानीय जनप्रतिनिधि र संघका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।