मलंगवा नगरपालिका वडा नं. १० अन्तर्गत जि.बि.स. चौक वरपर अनधिकृत रूपमा निर्माण गरिएका टहरा, पसल र कटघेरा बुधबार वडा कार्यालयको पहलमा हटाइएको छ। पटक–पटक सूचना दिइए पनि अटेरी गर्दै संरचना नहटाइएकाले वडा कार्यालयले अन्ततः कारबाही गरेको हो।

वडा अध्यक्ष मुकेश कुमार झाका अनुसार उक्त क्षेत्रको सौन्दर्यीकरण गर्ने योजना अन्तर्गत अनधिकृत संरचना हटाइएको हो। “हामीले यसअघि नै सूचना जारी गरेर हटाउन अनुरोध गरेका थियौं। अब यस क्षेत्रलाई व्यवस्थित र सुन्दर बनाउन काम अघि बढाइनेछ,” अध्यक्ष झाले बताए।

वडाले सार्वजनिक स्थानको संरक्षण र व्यवस्थापनलाई प्राथमिकता दिँदै आगामी दिनमा पनि यस्ता अतिक्रमणमाथि निगरानी र आवश्यक कारबाही जारी राख्ने बताएको छ।