सर्लाही जिल्लाको मलंगवा नगरपालिका–५ स्थित भाँड्चौरमा आयोजित हल्दी–मेहेन्दी कार्यक्रममा जनता समाजवादी पार्टी जसपा नेपालकी केन्द्रीय नेतृ डा. बबी सिंह यादवले सार्वजनिक रूपमै पेस्तोल पड्काएको घटना सार्वजनिक भएको छ।

वसन्त कुमारकी छोरी कोमल सुप्रियाको विवाहअगाडि आयोजना गरिएको कार्यक्रममा नेतृ सिंहले एक राउन्ड हवाई फायर गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको हो।

भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले नेतृ सिंहलाई सोधपुछका लागि बोलाएको थियो। बयानका आधारमा सर्लाहीको मलंगवा नगरपालिका,भाड्सर स्थित अञ्जनी कुमारको घरबाट प्रहरीले पेस्तोल बरामद गरेको हो।

सर्लाही प्रहरी प्रमुख डिएसपी सरोज राईका अनुसार बरामद गरिएको पेस्तोल बारुद पड्किने किसिमको भए पनि वास्तविक गोली प्रहार नगर्ने प्रकारको हो। “नेतृ सिंहले मेहेन्दी कार्यक्रममा पेस्तोल पड्काएको पुष्टि भएको छ,” डिएसपी राईले बताए।

यसअघि डा.सिंहले फेसबुक स्टाटसमार्फत घटना भारतको सीतामढीमा भएको दाबी गरेकी थिइन्। तर अनुसन्धानबाट घटना सर्लाहीकै भएको पुष्टि भएको छ।