लोकतान्त्रिक पत्रकार संघको महाेत्तरी जिल्ला संयोजकमा राजिव कुमार राय कुर्मीलाई मनोनयन गरिएको छ । संघको केन्द्रीय कार्य समितिले विधानअनुसार पत्रकार कुर्मीलाई महाेत्तरी संयोजकमा मनोनयन गरेको हो ।
नेपाल टेलिभिजन महाेत्तरीका संवाददाता एवम् नेपाल पत्रकार महासंघ महाेत्तरीका काेषाध्यक्ष समेत कार्यरत रहनु भएका पत्रकार कुर्मी विभिन्न मिडियामा पनि आबद्ध छन् । लामो समयदेखि पत्रकारिता पेसामा रहेका कुर्मी एफएम रेडियो, अनलाइन तथा छापा पत्रकारिता गरी पत्रकारिताका सबै क्षेत्रमा क्रियाशील छन् ।
महाेत्तरीमा उनकाे आफ्नो छुट्टै नाम पहिचान बनाइसकेका छन् ।

महाेत्तरीकाे गाैशाला १२ भरतपुर निवासी कुर्मीकाे नेतृत्वमा लोकतान्त्रिक पत्रकार संघ महाेत्तरीले अलग्गै पहिचान बनाउने विश्वास गरिएको छ ।
संघका केन्द्रीय अध्यक्ष कामरेन्द्र वर्माले बिहीबार कुर्मीलाई जिल्ला संयोजकमा मनोनयन गरिएको जानकारी गराएका छन् । देश, मधेश, पत्रकार र पार्टीको हितमा साहको कार्यकाल उल्लेखनीय रहने विश्वास पनि संघले लिएको अध्यक्ष वर्माद्वारा हस्ताक्षरित मनोनयन पत्रमा उल्लेख गरिएको छ ।
हालसम्म लाेकतान्त्रिक पत्रकार संघकाे ४ वटा जिल्लामा जिल्ला संयाेजक मनाेनयन भइसकेकाे छ । बारामा बिनाेद कुमार प्रजापती,राैतहटमा राजु कुमार श्रीवास्तव,सर्लाहीमा राजीव कुमार साह जिल्ला संयाेजकमा चयन भइसकेका छन् ।