सर्लाही सदरमुकाम मलंगवामा निर्माण हुन लागेको यातायात व्यवस्था कार्यालयको नयाँ भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम मधेश प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो, भने श्रम तथा यातायात मन्त्री कौशल किशोर रायको विशेष उपस्थिति रहेको थियो।

मलंगवा नगरपालिका–२ स्थित श्रीराम कबिर मठले ९ कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराएपछि यातायात कार्यालयको भवन निर्माण सम्भव भएको हो। हालसम्म उक्त कार्यालय जिल्ला समन्वय समितिको भवनबाट सेवा दिँदै आएको छ ।

श्रम तथा यातायात मन्त्री रायले आफ्नै निर्वाचन क्षेत्रमै कार्यालयको भवन शिलान्यास गर्न पाउँदा खुशी लागेको बताउँदै मधेश प्रदेशमा अटोमेटिक ट्रायल सेन्टर स्थापनाको लक्ष्य रहेको जानकारी दिए।

कार्यक्रममा मुख्यमन्त्री सिंहले कबिरा मठलाई संरक्षण र विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै मापदण्डविपरीत सञ्चालनमा रहेका अस्पतालहरूमा कडाइ गर्न सुरक्षा निकायलाई निर्देशन दिने बताएका छन्। साथै, मधेश प्रदेशको शिक्षा गुणस्तर सुधारका लागि विशेष अभियान सञ्चालन गरिने भन्दै सबै पालिका प्रमुख तथा शिक्षा प्रमुखहरूलाई सहयोगको आह्वानसमेत गरे।

कार्यक्रम यातायात कार्यालयका निमित्त प्रमुख शशि कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा मन्त्रालयका सचिव युवराज अधिकारी, जिल्ला समन्वय समिति प्रमुख कौशल किशोर सिंह, कबिलासी नगरपालिकाका प्रमुख ब्रह्मदेव यादव, उपप्रमुख पुनम कर्ण, गाउँपालिका महासंघका अध्यक्ष जवाहरलाल यादव, कबिरा मठका महन्त, नेपाल प्रहरी प्रमुख,अनुसन्धान विभाग तथा सशस्त्र प्रहरीका प्रमुख लगायत पत्रकार राजनैतिक दलका प्रतिनिधिहरुको को उपस्थिति रहेको थियो।