सर्लाहीको मलंगवामा आयोजित “नमुना युवा संसद संसदीय अभ्यास कार्यक्रम”मा करिब ७० जना विद्यार्थीले सहभागी भई लोकतान्त्रिक अभ्यासको प्रत्यक्ष अनुभव लिएका छन्। इम्प्याक्ट इनिसियटिभ नेपाल सर्लाही र तराई मधेश कानुन विद्यार्थी समाजको सहकार्यमा मलंगवा नगरपालिकाद्वारा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले सांसद, सभामुख, मन्त्री, प्रतिपक्षी आदि भूमिकामा प्रस्तुत भई संसदीय प्रक्रिया, छलफल, प्रस्ताव पारितलगायत अभ्यास गरेका थिए। उद्घाटन समारोहमा गमलामा पानी हालेर वातावरणीय सन्देश दिइएको थियो।

जिल्ला संयोजक विकास यादवको अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वडा नं. ११ का वडाअध्यक्ष नन्दकिशोर राय (शम्भु), मलंगवा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सलिम मिकरानी,पत्रकार बन्दना झा शिक्षक, समाजसेवी, प्रहरी निरीक्षक र स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।