सर्लाही जिल्लाको बागमती नगरपालिका–१ स्थित पानीट्याङ्की चोक नजिकै पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्।

बिहान करिब ८ बजे पूर्वतर्फ जाँदै गरेको बालुवा लोड गरिएको टिपरले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए। तत्काल उद्धार गरी उनीहरूलाई हरिवनस्थित नमुना अस्पतालमा लगिएको थियो।

प्रारम्भिक उपचारपछि दुवै जनालाई थप उपचारका लागि बारास्थित एलएस न्युरो अस्पताल रेफर गरिएको थियो। उपचारको क्रममा बागमती नगरपालिका–६ निवासी २१ वर्षीय मोहमद कैफ मिकरानीको दिउँसो १२ बजे मृत्यु भएको हो। अर्का घाइते सुमित यादवको अवस्था गम्भीर रहेको र उनको उपचार जारी रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईका अनुसार, दुर्घटनामा संलग्न टिपर घटनास्थलमै फेला परेको छ भने चालक बागमती नगरपालिका–१२ निवासी ३४ वर्षीय उदव मोक्तानलाई नियन्त्रणमा लिइएको छ। “टिपर र चालक दुवैलाई नियन्त्रणमा लिएर घटनाको आवश्यक अनुसन्धान भइरहेको छ,” डीएसपी राईले जानकारी दिए।

प्रहरीका अनुसार दुर्घटनाको कारण र जिम्मेवारी पुष्टि गर्न आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।