मधेस प्रदेश सरकारका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले हलुवाई समुदायको सामाजिक, शैक्षिक तथा आर्थिक सशक्तिकरणमा प्रदेश सरकार गम्भीर रहेको बताएका छन्। सर्लाहीको मलंगवामा सम्पन्न हलुवाई सेवा समिति सर्लाहीको १५औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री रायले शिक्षालाई प्रमुख हतियारका रूपमा प्रयोग गरेर समुदायलाई मुख्य धारमा ल्याउन प्रतिबद्ध रहेको घोषणा गरे।

“हलुवाई जाति विगतदेखि नै विभिन्न कारणले पछि परेको छ। यसलाई अगाडि बढाउन शिक्षामा विशेष जोड दिनुपर्छ,” मन्त्री रायले भने, “प्रदेश सरकारले यसमा आवश्यक सहयोग गर्न कुनै कसर बाँकी राख्ने छैन।”

जानकी पार्टी प्यालेस, मलंगवामा आयोजित अधिवेशनको अध्यक्षता हलुवाई सेवा समिति सर्लाहीका अध्यक्ष रामनाथ साहले गरेका थिए भने कार्यक्रममा समिति केन्द्रिय अध्यक्ष शत्रुधन साह र प्रदेश अध्यक्ष रामशंकर साहको समेत उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले हलुवाई समुदायलाई शिक्षामा जोड दिनु आजको आवश्यकता रहेको धारणा राखे। उनीहरूले राज्यको नीति र योजनामा समुदायको उचित सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

अधिवेशनको अवसरमा २१ सदस्यीय नयाँ जिल्ला समिति पनि चयन गरिएको आयोजक समितिले जनाएको छ।