सर्लाहीमा निर्माणाधीन विकास योजनाहरूको प्रगति, सरकारी सेवा प्रवाह सुधार र दुर्घटना नियन्त्रणका उपायबारे जोडदार अन्तरक्रिया सम्पन्न भएको छ।

जिल्ला प्रशासन कार्यालयको आयोजनामा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न योजना, तिनका समस्या र समाधानबारे गहन छलफल गरिएको हो।

कार्यक्रममा जिल्ला समन्वय समिति (जिसस) सर्लाहीका प्रमुख कौशल किशोर सिंहले अल्पप्रगति भएका आयोजनाहरूको कार्यान्वयनमा गति ल्याउन, सरकारी सेवा प्रणालीलाई जनमुखी बनाउँदै दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी पहल आवश्यक रहेको बताउनुभयो ।

कमला–ढल्केवर–पथलैया सडक योजनाको पूर्वी खण्ड, सर्लाही रेल योजना, हुलाकी राजमार्ग आयोजना, लालबन्दी–सलेमपुर १३२ के.भि. प्रसारण लाइन तथा जिल्ला ट्राफिक कार्यालयका प्रमुखहरूले आ–आफ्ना क्षेत्रको प्रगति विवरण तथा चुनौतीहरूबारे प्रस्तुतीकरण गरेका थिए।

अन्तरक्रियामा जिसस उपप्रमुख जितेन्द्र कुमार कुशवाहा, स्थानीय तहका प्रमुख/अध्यक्षहरू, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका जिल्लास्तरीय प्रमुख, नागरिक समाजका अगुवा तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।