सर्लाही जिल्लाको बरहथवा नगरपालिका–१७ मा गए राति मोटरसाइकल दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ।

कटानीबाट कडरिया टोलतर्फ जाँदै गर्दा ना.४६ प.२८२० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको पुलबाट झरेर दुर्घटना भएको हो। दुर्घटना राति करिब २:५० बजे भएको प्रहरी स्रोतले जनाएको छ।

दुर्घटनामा परी सर्लाहीको मलंगवा नगरपालिका–४ निवासी अन्दाजी ३५ वर्षीय घनश्याम राय गम्भीर घाइते भएका थिए। उनको टाउको, निधार र दुबै आँखामाथि गहिरो चोट लागेको थियो।

घाइते अवस्थामै उनलाई बरहथवा स्थित स्थानिय अस्पतालमा उपचार गरेर थप उपचारका लागि बिहान करिब ४ बजे बाराको एलएस न्युरो अस्पताल लगिएको थियो। तर उपचारको क्रममा बिहान चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय मुर्तियाबाट प्रहरी निरीक्षक उदय कुमार झाको कमाण्डमा प्रहरी टोली पुगेर अनुसन्धान अगाडि बढाएको छ। मोटरसाइकल हाल ई.प्र.का. मुर्तिया, सर्लाहीमा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।