सर्लाही जिल्लाका अधिकांश स्थानीय तहहरूले आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सर्वाङ्गीण विकासमा जोड दिएका छन्। जिल्लाका २० स्थानीय तहहरूमध्ये मलंगवा नगरपालिका, गोडैता नगरपालिका, ब्रह्मपुरी गाउँपालिका, कविलासी नगरपालिका, चन्द्रनगर गाउँपालिका लगायत १९ पालिकाले निर्धारित मितिमा गाउँसभा/नगरसभा सम्पन्न गरेका छन्।

पर्सा गाउँपालिकाले भने आन्तरिक तयारी अभावका कारण निर्धारित मितिमा सभा सम्पन्न गर्न सकेन। हरिपुर्वा नगरपालिकामा सभा सम्पन्न भए पनि प्रमुख प्रतिपक्ष दलले कार्यक्रम बहिष्कार गरेको छ। उता कविलासी नगरपालिकामा सामान्य विवाद उत्पन्न भए पनि सभा ढिलो गरी सम्पन्न गरिएको थियो।

सभामा पालिकाहरूले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी, सामाजिक सुरक्षा, वातावरण संरक्षण लगायतका क्षेत्रमा केन्द्रित नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। गोडैता नगरपालिकाले हालसम्म सम्पन्न विकास निर्माण कार्यहरूको विवरण प्रस्तुत गर्दै आगामी वर्षमा सडक सुधार, खानेपानी योजना, सामुदायिक भवन निर्माण, डिजिटल सेवा विस्तार र विद्यालय पूर्वाधारमा लगानी गर्ने घोषणा गरेको छ।  कृषि आधुनिकीकरण, ग्रामीण सडक कालाे पत्र, स्वास्थ्य सेवाको पहुँच वृद्धि, महिला सशक्तिकरण र अपांगता मैत्री कार्यक्रम सञ्चालन गर्ने नीति सार्वजनिक गरेको छ।

योजना  सार्वजनिक कार्यक्रममा पूर्वमन्त्रीदेखि संघीय र प्रदेश सांसदहरू, विभिन्न तहका विशिष्ट जनप्रतिनिधिहरूको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा सरोकारवाला निकाय, स्थानीय नेता, बुद्धिजीवी, पत्रकार, नागरिक समाज तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

सभामार्फत पालिकाहरूले अबको दुई वर्षभित्र सबै क्षेत्रमा समावेशी र समतामूलक विकास गर्ने प्रतिबद्धता जनाएका छन्। नीति तथा कार्यक्रम कार्यान्वयनमा पारदर्शिता, जनसहभागिता र सुशासनलाई मुख्य आधार बनाउने योजना तथा अनुमानित बजेट सार्वजनिक गरिएको छ।