नेपाल पत्रकार महासंघ सर्लाहीको समन्वयमा मिडिया काउन्सिल मधेस प्रदेशद्वारा आयोजित “पत्रकार आचार संहिता सम्बन्धी गोष्ठी” बुधबार मलंगवामा सम्पन्न भएको छ।

मलंगवा नगरपालिका स्थित होटल सुजातामा सम्पन्न उक्त गोष्ठीको अध्यक्षता मिडिया काउन्सिल मधेस प्रदेशका अध्यक्ष सुरेश यादवले गर्नुभयो भने कार्यक्रमका प्रमुख अतिथि प्रदेश सरकारका गृह, संचार तथा कानुन मन्त्री राजकुमार लेखी रहनुभएको थियो।

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा मधेस प्रदेश सांसद जंगिलाल राय, मलंगवा नगरपालिकाकी उपप्रमुख शकुन्तला देवी साह, आम संचार प्राधिकरण जनकपुरधामका अध्यक्ष जितेन्द्र खड्का, चलचित्र तथा लोक संचार प्रवर्द्धन परिषद्का अध्यक्ष किशोर कुमार लेखी, एमाले सर्लाही अध्यक्ष राजनारायण साह, मिडिया काउन्सिलका प्रशासकीय प्रमुख टेक विक्रम साह, सञ्चारकर्मीहरु तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

गोष्ठीमा नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुर,मिडिया काउन्सिलकी सदस्य बन्दना झा लगायतका वक्ताहरुले पत्रकार आचार संहिता, पत्रकारिता पेशामा देखिएका चुनौती, सामाजिक सञ्जालको मर्यादित प्रयोग, उत्तरदायित्व र पेशागत निष्ठाका विषयमा धारणा प्रस्तुत गरेका थिए।

कार्यक्रममा प्रेस मञ्च  कार्यवाहक अध्यक्ष मनोज यादवले ‘पत्रकार आचार संहिता’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यपत्रमा पत्रकारितामा देखिएको आचारहीनता, प्रेस स्वतन्त्रताको मर्यादा र सामाजिक सञ्जालको भूमिकाबारे गहिरो विश्लेषण गरिएको थियो।

प्रमुख अतिथि मन्त्री राजकुमार लेखीले संचार मन्त्रालयको बजेट सीमित रहे पनि पत्रकारिता क्षेत्रको सशक्तिकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो। उहाँले पत्रकार बीमा योजना, महासंघ भवन निर्माण, उत्कृष्ट पत्रकार सम्मानजस्ता कार्यक्रम अघि बढाइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

कार्यक्रमको उद्देश्य संचारकर्मीहरूमा आचार संहिता पालनाको गम्भीरता र साझा जिम्मेवारीबोध गराउनु रहेको मिडिया काउन्सिल मधेस प्रदेश अध्यक्ष सुरेश यादवले जानकारी दिनुभयो।