सर्लाही प्रहरीद्वारा जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेश अध्यक्ष अशोक कुमार यादवविरुद्ध दर्ता गरिएको मुद्दाको विरोधमा आज मलंगवा बजार पूर्ण रूपमा बन्द गरिएको छ। जसपाको पूर्वघोषित आन्दोलन कार्यक्रमअनुसार शनिबार र आइतबार मलङवा बजार र यातायात सेवा पूर्णरूपमा ठप्प पारिएको हो।

सदरमुकाम मलंगवाबाट चल्ने सवारी साधनहरु बिहानैदेखि सञ्चालनमा नआउँदा यात्रुहरू ठूलो सास्तीमा परेका छन्। प्रदर्शनकारीहरुले मलंगवा–नवलपुर सडक अन्तर्गत सलेम्पुर क्षेत्रमा टायर बालेर प्रदर्शन गर्नुका साथै सडक अवरोध गरेका छन्। स्थिति नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ।

जसपा सर्लाहीका अध्यक्ष शम्भु प्रसाद यादवले नेता अशोक यादवमाथि प्रहरीले ‘राजनीतिक पूर्वाग्रह’ राखेर कारबाही अघि बढाएको आरोप लगाउँदै त्यसको विरोधमा बन्द कार्यक्रम घोषणा गरिएको जानकारी दिएका छन्।

असार १९ गते राति जसपा नेता यादव र जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्र खड्काबीचको टेलिफोन संवादमा भनाभन र गालीगलौज भएको अडियो सार्वजनिक भएपछि सर्लाही प्रहरीले यादवविरुद्ध जाहेरी दर्ता गरी अदालतबाट पक्राउ पुर्जी समेत जारी गराएको थियो।