सर्लाहीको सदरमुकाम मलंगवा बजार र यस क्षेत्रबाट चल्ने यातायात सेवा दुई दिनदेखि ठप्प बनाउने गरी जसपा सर्लाहीले आह्वान गरेको बन्द शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

जसपा सर्लाहीका जिल्ला अध्यक्ष शम्भु यादवले बन्द सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन्। उनले मेरो सान टिभी अनलाइन सँग कुरा गर्दै मलंगवा बजार र यसबाट चल्ने साना तथा ठूला गाडीहरू सोमबारबाट पुनः सञ्चालनमा आउने जानकारी दिए।

जसपाले मधेस प्रदेश अध्यक्ष अशोक यादव र नेपाल प्रहरी प्रमुखबीचको भनाभनपछि अशोक यादवमाथि गिरफ्तारी पुर्जी जारी गरिएको, साथै उनीमाथि विभिन्न मुद्दा थुपारिएको आरोप लगाउँदै विरोध स्वरूप आन्दोलनको घोषणा गरेको थियो।

बन्दका कारण मलंगवा बजार सुनसान रह्यो। सार्वजनिक यातायात पूर्ण रूपमा अवरुद्ध हुँदा सर्वसाधारणले म्याजिक र अटो रिक्सामा यात्रा गर्दा अत्यधिक भाडा तिर्नुपरेको थियो। यात्रुहरू र व्यापारिहरूले दैनिक कामकाजमा कठिनाइ भोगेका थिए।

जसपाका अनुसार आन्दोलनको आगामी चरणबारे निर्णय भोली वा पर्सी सार्वजनिक गरिनेछ।