सर्लाहीको ईश्वरपुर नगरपालिकाको वडानं. १२ र १३ को सिमानामा अवस्थित रेलवे ट्रयाक चौकमा सोमबार बिहान सवारी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

श्रीनगरबाट बाँके चौकतर्फ जाँदै गरेको एफजेड मोटरसाइकल (प्र.०३–०२८ प २१९१) र महोत्तरीतर्फ गइरहेको पिकअप भ्यान (बा ८ च ६५) आपसमा ठोक्किएर आगलागी हुँदा मोटरसाइकल पूर्ण रूपमा जलेको छ भने पिकअपको अघिल्लो भाग आधा जलेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परि एफजेड मोटरसाइकल चालक ईश्वरपुर–१५ का २३ वर्षीय चन्द्रदेव धामी गम्भीर घाइते भएका छन्। उनको शरीरको झन्डै ८५ प्रतिशत भाग जलेको छ। उनी भगवती दल गण, ईटहरीमा कार्यरत नेपाली सेना हुन्।

त्यस्तै मोटरसाइकलमा सवार चितवनका सैनिक सिपाही २२ वर्षीय प्रशेस चौधरी र २१ वर्षीय अमित चौधरी सामान्य घाइते भएका छन्। पिकअप चालक रामएकबाल महतो र सवार लेखनाथ उपाध्याय पनि मध्यम घाइते अवस्थामा छन्।

घाइते सबैलाई उपचारका लागि लालबन्दीस्थित मोडेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ। दुबै सवारी साधन नियन्त्रणमा लिइएको र घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी चौकी फुलजोरले जनाएको छ।